अभिभावक शैली तथा यसका असरहरू

 

हरेक अभिभावकको अपेक्षा हुन्छ, “मेरो सन्तानले अध्ययन गरिरहेको विद्यालय यस्तो भैदिए हुन्थ्यो, अध्यापन गराइरहनु भएको शिक्षक, शिक्षिका यस्तो भैदिए हुन्थ्यो, समाज यस्तो भैदिए हुन्थ्यो, सन्तानको संगत यस्तो भैदिए हुन्थ्यो, श्रीमान् / श्रीमती यस्तो भैदिए हुन्थ्यो, मेरो सन्तान यस्तो भैदिए हुन्थ्यो !”

तर अरुलाई यस्तो भैदिए हुन्थ्यो भन्दै गर्दा हामीचाहि कस्तो भैदिए हुन्थ्यो ?

हामी जस्ता छौ, यस्तै भैदिए हुन्थ्यो कि यो भन्दा फरक अनि राम्रो भैदिए हुन्थ्यो ?

साँची हामी छौ कस्तो ? कस्तो अभिभावक मा पर्छौ हामी ? हाम्रो अभिभावक शैली कस्तो छ ? हाम्रो अभिभावक शैली ले हाम्रा सन्तान मा तत्काल कस्तो असर परिरहेको छ ?भविष्यमा कस्तो असर पर्ला, सकारात्मक कि नकारात्मक ?

१९६० मा मनोवैज्ञानिक डायना बौम्रिंड  (Diana Baumrind) ले १०० जना भन्दा बढी पूर्वप्राथमिक तहका बालबालिका र उनीहरूको अभिभावक लाई आधार बनाएर एक अध्ययन गरेकी थिइन् | जसको फलस्वरुप तिन वटा अभिभावक शैली पत्ता लगाएकी थिइन् | अधिनायकवादी शैली (Authoritarian Style), अनुमोदक शैली (Permissive Style), प्रजातान्त्रिक शैली  (Authoritative Style) | पछि अनुसन्धानकर्ता मच्चोब्य र मार्टिन (Maccoby and Martin) ले यी तीनवटा शैली सँगै अर्को चौथो उपेक्षित शैली  (Neglectful Style) पनि हुन्छ भनी सुझाव दिएका थिए |

यस लेख अन्तर्गत आज हामी तिनै अभिभावक शैली, तिन ले हाम्रा सन्तान मा परिरहेको र पार्न सक्ने असर तथा प्रभाव साथै कुन शैली अपनाउँदा उचित हुन्छ भनी छलफल गर्नेछौ |

अधिनायकवादी शैली (Authoritarian Style)

यस शैली अन्तर्गत अभिभावकले सन्तानको आवश्यकता, रूचि, चिन्ता तथा अपेक्षा लाई वास्ता नगरी उच्च नियन्त्रणमा राख्ने गर्दछन् | कडा नियम तथा दायरा मा राख्न सक्यो भने सन्तानलाई अनुशासित बनाउन सकिन्छ भन्ने मान्यता राख्छन् | सन्तानको कुरा नसुनी आफ्नो मात्रै कुरा राख्ने, सन्तान बाट धेरै भन्दा धेरै अपेक्षा राख्नु का साथै सानोतिनो गल्तीमा पनि शारीरिक तथा मानसिक सजाय पनि दिने गर्छन् | ‘मैले जन्माएको हो, मेरो अर्डर अनुसार चल्नु पर्छ’ भन्ने मानसिकता भएका अभिभावकहरू यस शैली अपनाउने अन्तर्गत पर्दछन् |

यस अभिभावक शैलीका असर हरू: 

  • मनको कुरा खुलेर भन्न नसक्ने / डराउने साथै बिनाकारण दुखी तथा निराश भइराख्ने
  • कुनैपनि कुरा मा आफै निर्णय गर्न नसक्ने ( अरुमा भर पर्ने )
  • आफै तथा वरिपरिको वातावरण सँग असुरक्षित महसुस गर्ने
  • आत्मा सम्मानमा कमी हुने साथै आफ्नो बारेमा नकारात्मक सोच्ने
  • व्यवहार तथा आचरणमा एकदमै समस्या
  • सानो सानो कुरामा रिसाउने, झर्को मान्ने
  • पढाईमा सुस्त हुनुका साथै शैक्षिक प्रगति गर्न नसक्ने
  • असामाजिक व्यवहार गर्नुका साथै जोकोही सँग घुलमिल हुन नसक्ने )
  • मानसिक समस्याको प्रबल सम्भावना हुनुका साथै कुलत ( नसामा फस्ने सम्भावना धेरै )

अनुमोदक शैली (Permissive Style)

यस्तो अभिभावक शैली जहाँ सन्तानको निम्ति कुनैपनि किसिमको नियम तथा दायरा हुदैन | सन्तानको हरेक मागलाई बिना सोची सम्झी पुरा गरिदिनु तथा सम्पूर्ण रूपले स्वतन्त्रता प्रदान गर्नु यस अभिभावक शैलीको विशेषता हो | आफूले आफ्ना अभिभावक बाट प्राप्त गर्न नसकेका खुशी तथा भोग गर्न नसकेका हरेक चिज सन्तानलाई दिन खोज्नु साथै ‘मैले कमाएको यिनैका लागि त हो नि ‘ भन्ने मानसिकताका कारण बच्चाको हरेक इक्षा पुरा गर्नु लाई नै यस अभिभावक शैलीका अभिभावक हरूले कुशल अभिभावक भन्ठान्छन् |

यस अभिभावक शैलीका असर हरू: 

  • सन्तान हरू कुनैपनि नियम दायरामा बस्न नसक्ने तथा नरुचाउने
  • आफैलाई मानसिक तथा भावनात्मक रुपमा नियन्त्रण गर्न नसक्ने तथा जिद्दी हुने
  • कसैदेखि नडराउने, नलजाउने, नझुक्ने तथा एकदमै अहङ्कारले भरिएको हुने
  • जो सुकै सँगको सम्बन्ध तथा समाजमा आफू केन्द्रित हुने, आफ्नो मात्र खुशी खोज्ने  
  • अरुको विचार तथा भावनाको ख्याल नगर्ने तथा आफूलाई जे ठिक लाग्यो त्यहि गर्ने
  • अहिले गरेको कार्यले भविष्य मा कस्तो असर पर्छ भनी सोच्न नसक्ने

प्रजातान्त्रिक शैली  (Authoritative Style)

यस शैली अन्तर्गत अभिभावक ले आफ्नो सन्तानको आवश्यकता, रुचि, चिन्ता तथा अपेक्षा लाई ध्यान मा राखी कारण सहित स्पष्ट नियम बनाउने आफू पनि पालना गर्ने र सन्तान लाई पनि पालना गर्न हौसला दिने गर्दछन् | कुनैपनि कुरामा निर्णय लिनु पहिले सन्तान सँग बस्ने, उनीहरूको कुरा सुन्ने तथा उनीहरू लाई पनि निर्णय लिन प्रेरित गर्ने गर्छन् | कुनैपनि जिम्मेवारी सन्तानलाई दिनु अघि स्पष्ट कारण तथा पुरा गर्ने तरिका बताउनु, शिक्षा सँगै सन्तानमा मूल्यमान्यता एवं नैतिकतामा विशेष जोड दिनु, निश्चित दायरा सहितको स्वतन्त्रता प्रदान गर्नु इत्यादि यस अभिभावक शैलीका विशेषता हुन् |

यस अभिभावक शैलीका असर हरू: 

  • सन्तानहरूले  वर्तमान मा मात्रै नभई भविष्य मा समेत खुशी तथा सुखी जीवनशैली अपनाउने
  • कुनैपनि काम मा (गर्न सक्ने ) आफैमा भर पर्ने तथा जिम्मेवार बन्ने
  • आफूले चाहेको र क्षमता ले भेटेको हरेक क्षेत्र सक्रिय बन्ने
  • शैक्षिक प्रगति गर्ने तथा अब्बल हुने
  • उच्च आत्मसम्मान भएको
  • सामाजिक रूपले सक्रिय हुने तथा सही सङ्गतमा घुलमिल हुने
  • मानसिक तथा भावनात्मक रुपमा स्वस्थ
  • आपराधिक गतिविधि, गलत संगत तथा कुलत सदैव बाट टाढा रहने

उपेक्षित शैली  शैली  (Neglectful Style)

‘जन्माई हाले खान दिएकै छु, लाउन दिएकै छु, विद्यालय पठाएकै छु, फी तिरेकै छु, यो भन्दा बढी के गर्नु र मैले’ भन्ने मानसिकता भएका अभिभावकहरू यस शैली अन्तर्गत पर्ने गर्दछन् | यस शैलीका अभिभावक हरू आफ्नै ताल मा बाच्न रुचाउने, आफ्ना सन्तानको अपवाद बाहेक कुनै पनि क्रियाकलाप मा सहभागी हुन नचाहने, आफ्नो कारणले सन्तानलाई कस्तो असर पर्दैछ भनी सोच्न नसक्ने तथा श्रीमानश्रीमती बीच दोषारोपण गर्ने खालको हुन्छन् |

यस अभिभावक शैलीका असर हरू:

  • हरपल आवेगले भरिएको हुने तथा एकान्त मन पराउने वैराग्य स्वभावको हुने
  • आफ्नो भावना तथा आवश्यकता, रूचि, चिन्ता तथा अपेक्षा  सही ढंगले व्यक्त गर्न नसक्ने
  • सानोसानो कुरामा पनि नियन्त्रण गर्न नसक्ने
  • आपराधिक घटनामा सामेल हुने तथा कुलतमा फस्ने प्रबल सम्भावना
  • मानसिक समस्याले ग्रस्त (आत्महत्याको सम्भावना) समेत भएको

हरेक सन्तान जन्मदै फरक प्रतिभा तथा क्षमता लिएर आएका हुन्छन् | हाम्रो जिम्मेवारी भनेको उनीहरूको प्रतिभालाई निखार्दै समाज, राष्ट्र तथा संसार मा सकारात्मक परिवर्तन ल्याउन सक्ने एक असल, सफल र खुशी मानव बनाउनु हो |

त्यसैले सही अभिभावक शैली अपनाउँदै सन्तानलाई असल, सफल र खुशी बनाउन प्रण गरौँ |

रबि किरण

 

Rabi Keeran

Motivational Speaker

Leave a Reply